नेपाल आउँदा संजय सँग कुनै नयाँ ठाउँ मा घुम्न जाने सधैँ मेरो योजना मा पर्ने गर्छ। ऊ मेरो हाई स्कुल देखि को साथी हो र हामी एक अर्का सँग फिरन्ते पारा ले नयाँ ठाउँ मा जान रमाइलो मान्छौँ । बिगतका केहि नेपाल यात्रामा योजना हरु हुँदा हुँदै पनि ऊसँग घुम्न जाने मौका नमिलेको हुनाले हामीले अग्रीम योजना बनाउने काम गर्न छाड्यौँ । वास्तविकतामा परिणत नहुने योजना बुन्दै बस्नु बेकार छ, त्यसैले हामीले सँगै यात्रा गर्ने इच्छ्या लाई प्रबल राख्दै यसलाई भबिष्य को गर्व मै छाडी बस्यौँ। बिगतमा हामीले गरेका मुक्तिनाथ र पूनहिलका यात्राहरू अझै पनि स्मृति मा ताजा छन्, र तिनै स्मृतिले मलाई जीवनभरि यात्रा नै यात्रा गरिरहुँ जस्तो लाग्छ। नेपालका धेरै कुना काप्चा अनि विकट ठाउँहरूको यात्रा संजयले तय गरिसकेको छ। मेरो आजभोली को बसाईं अमेरिकातिर भएको हुनाले मैले नेपालको सोचेजति यात्रा गर्न पाएको छैन, तर मौका मिले सम्म अनि समयले भ्याए सम्म नेपाल आउँदा घुम्ने काममा म सधैं नै इच्छुक हुने गर्छु। भनिन्छ ज्ञान तीन किसिमका हुन्छन - सूतमय, चिन्तामय अनि भावमय। यी तीनमध्ये भावमय ज्ञान सर्वश्रेस्ठ मानिन्छ किनभने कुनै कुरा को देखाई र चिन्तनबाट जति ज्ञान प्राप्त गर्न सकिन्छ त्यो भन्दा धेरै गुणा ज्ञान त्यसको भोगाईबाट प्राप्त हुन्छ। मलाई बाल्यकालदेखि सुन्दै आएका अनि नसुनेका नेपालक दूरदराजका ठाउँहरू पुगेर त्यहाँका मानिस हरु ले गर्ने अनुभूति आफैँ गर्ने धोको छ। हुन त मा विदेशमा लामो समयदेखि बस्दै आएको मान्छे, नेपाल कै अनुभव किन गर्नु पर्यो? अमेरिका, युरोप मा पनि धेरैभन्दा धेरै प्राकृतिक सुन्दरताले युक्त ठाउँहरू छन् भन्ने प्रश्न उठ्न सक्छ। हो, मलाई यी ठाउँहरूको पनि येथेस्ट मात्रमा भ्रमण गर्ने इच्छ्या छ, तर त्यो भन्दा धेरै बढि मलाई आफू यहाँका पर्वत, नदीनाला, मनावशास्त्र अनि जिवानपद्दतिलाई बुझ्ने इच्छ्या छ।

विगतका नेपाल भ्रमणहरूमा जस्तै यसपालि पनि आफ्नो गाउँ अनि अफान्तिहरूकहाँ भ्रमण गरेँ। यसपाली स्याङ्ग्जा, पोखरा अनि चितवन सबैतिर बाबा-मम्मी सँगै नै जाने मौका मिल्यो। बाबाले पारिवारिक भ्रमणका लागि एक हप्ता लामो छुट्टि लिनु भएको थियो। सीमित समय अनि कोरोना महामारीका कारण सार्वजनिक यातायातमा एक्लै गैराख्नुभन्दा घरकै गाडीमा सबैतिरको भेटघाट भ्याउने योजना बन्यो। सर्वप्रथम त हामी कूल पूजामा सरिक हुनका निम्ति हाम्रो गाउँ दिमिक मा पुग्यौँ। आफू जन्मे-हुर्केको ठाउँमा पुग्न पाउँदा मन यसै हर्षित नै थियो। त्यसमा पनि आफूलाई औधी नै माया गर्ने हजुरबुवा अनि हजुरआमाहरूलाई भेट्न पाउँदा खुशीको सीमा थिएन। हाम्रो कूल देवता को स्थान, थान्बारीमा पुग्ने बित्तिकै हामीले तल फाँटमा बर्षाको उन्मादले मत्त भई भेटेसम्मको जमिन, जंगल अनि प्राणीहरुलाई आफूमा समाहित गर्दै कलकल बगिरहेकी काली गंगा लाई अत्यन्त श्रद्धाभावका साथ प्रणाम गर्यौँ। यस श्रद्धाको पछाडी धार्मिक आस्था त छदैं छ तर मेरा निम्ति त्योभन्दा ठुलो कारण हाम्रो जीवनयापन अनि पर्यावरणका निम्ति उनको विशिष्ठ योगदान अनि मेरा बत्सल्यकालीन स्मृतिहरूमा उनको उपस्थिति रहेको छ। धेरै पछि पारिवारिक कार्यक्रममा सहभागी हुने अवसर जुरेको थियो, जुन मेरा लागि निकै सुखद रह्यो। हामीले गाउँमा तीन दिन बितायौं तर यी तीन दिन मा सँगालेका यादहरूले मलाई लामो समयसम्म मातृभूमि बाट टाढा रहेको कर्मभूमिमा संघर्ष गर्न अमूल्य उर्जा दिने छन्। त्यहाँबाट छुटेपछि हामी पोखरा हुदै चितवन पुगी काठमाडौँ फिर्ता भयौँ।

पारिवारिक भ्रमण सकेपछि संजयसँग कतै घुम्न जाने कुरा भएको थियो। हामीसँग ३-४ दिनको मात्रै समय थियो तर हामी यौटा अविष्मरणीय भ्रमणमा जान चाहन्थ्यौँ। सगरमाथा क्षेत्रतिर जाने हाम्रो पहिलेदेखिको चाहना थियो, त्यसैले हामीले जहाजबाट लुक्ला पुगी त्यहाँबाट नाम्चेबजारसम्मको पैदलयात्रा तय गर्ने विचार गर्यौं र त्यसका लागि तारतम्य मिलाउनतिर लाग्यौँ। टिकट खोज्ने क्रममा लुक्लाको हवाई सेवा कोभिडका कारण स्थगित गरिएको थाहा भयो त्यसैले बैकल्पिक गन्तव्य खोज्नतर्फ लाग्यौँ। संजयले दामन देखि चन्द्रागिरी सम्म को पैदलयात्रा रमाइलो हुने कुरा गर्यो त्यसैले हामीले यो योजनालाई अगाडी बढायौं। मंगलबारको दिन बाबा ले हामीलाई दामन सम्म पुर्याइदिने एउटा गाडी को व्यवस्था गरिदिनु भयो। करिब साढे ३ बजे गाडी संजयलाइ लिएर मेरो घर मा आइपुग्यो अनि हाम्रो यात्रा सुरु भयो। ड्राइभर दाइ अलिक शान्त सोभावको भएकाले धेरै जस्तो कुरा हामी दुई बिच मै भयो। संजयलाई भोक लागेको हुनाले हामी नौबिसेको एउटा क्याफेमा रोकेर लस्सी खायौँ। नौबिसेबाट हामी त्रिभुवन राजपथतर्फ उकालो लागेपछि निकै घुमाउरो बाटो सुरु भयो। ड्राइभर दाईले पनि बेलुका काठमाडौँ फर्किनु पर्ने भएको हुनाले निकै हाँक्नुभयो। मलाई घुमाउरो बाटोमा यसै पनि रिंगटा लाग्छ अनि त्यसमाथि गाडी को तीव्र गतिले गर्दा मलाई अप्ठ्यारो महसुश भइरहेको थियो। उकाली लागेसँगै मौसम, भूगोल अनि पर्यावरण मा स्पष्ट परिवर्तन देख्न सकिन्थ्यो. अग्ला अग्ला चट्टानी पहाडहरुलाई चिरेर बगिरहेका स-साना खोलाहरु बिशाल ढुंगाहरुले भरिएका थिए. पालुंगको सेरोफेरो मा पुगे संगै तरकारी खेती पनि व्यापक मात्रामा देखिन थल्यो। रोडको छेउछाउमा साना नानी बाबुहरू काँक्रा लगायतक तरकारीहरु बेचिरहेका थिए। विस्तारै विस्तारै उच्च पहाडी वनस्पतिहरू पनि हामीले देख्न थाल्यौँ। हामी दामन को नजिक आइपुग्दा अँध्यारो पनि हुन थाल्यो। हामी कुन होटेलमा बस्ने भन्ने तय नभएको हुनाले हामी बाटोको छेउछाउ होटेलहरू हेर्दै थियौँ। संजयको साथीले एउटा राम्रो होटेल सुझाएको हुनाले हामी त्यो होटेल पत्ता लगाउनतर्फ लाग्यौं। तर दामन काटेर माथि सिमभंज्यांङ्ग सम्म पुग्दासम्म पनि त्यो नभेटिएपछि हामीले गूगलमा चेक गर्यौँ। त्यो त दामनमा नभएर बज्रबराहीमा रहेको थाहा पाएपछि हामी खिस्स पर्दै दामनतर्फ फर्क्यौं। दामनबाट सबैभन्दा नजिकको होटेल सुनगाभा थियो तेसैले हामीले कुनै रिस्क नलिई त्यहिँ बस्ने निधो गर्यौं।

हामीले रातको दुई हजार पर्ने कोठा लियौँ र नेपाली खान अर्डर गर्यौं। कोठामा बसेर केहि समय आराम गर्दै हामीले अन्तरंग गफगाफ सुरु गर्यौं। यसरी दुईजना मात्रै छुट्टै बसेर गफ गर्ने मौका मिलेको थिएन त्यसैले हामीले निकै व्यक्तिगत कुराहरू पनि एक अर्कासँग आदानप्रदान गर्यौं। गफ गर्दै जाने क्रममा खाना खाने समय पनि भएछ। हामी तल रेस्टुराँमा गाएर १-१ओटा याप्पल साइडर पिउन लाग्यौँ। सितनको लागि त्यहाँको दाईले आलु-फ्राई ल्याइदिनु भयो। दाइसँग कुरा गर्दै जाने क्रममा उहाले त मेरो साथी निशान रायमाझीलाई राम्रोसँग चिन्नु हुँदो रहेछ। यस्तै सामान्य कुराकानी गर्दागर्दै दाइले खान पनि ल्याइदिनु भयो। त्यहीँको लोकल तरकारीहरू प्रयोग गरेर तयार गरिएको नेपाली खान एकदम मीठो थियो। रहरको दाल, भात, साग, अचार, आलु-भुजिया, काउली को तरकारी अनि पकौडा जस्तै फ्राई गरिएको माछा खुर्सानी निकै नै स्वदिस्ट थियो। टन्न पेट भरि खाएपछि हामी आफ्नो कोठामा गयौँ र भोलिका योजनाबाट उत्साहित हुँदै सुत्यौं।

भोलिपल्ट बिहानै उठेर हामी फ्रेश भयौँ अनि बाहिर निस्केर अलिअलि ब्यायाम र ध्यान गर्यौं। हामीले विगतमाझैं यो यात्राको पनि भ्लग बनाउने सोचेर भिडियोहरू पनि रेकर्ड गर्यौं। विहान तुवाँलो लागेको हुनाले वातावरण निकै जादुमय जस्तो देखिन्थ्यो। राजमार्गको बाटो ४५ मिनेटजति हिडिसके पछि हामी दामनको बजारमा आइपुग्यौँ र त्यहाँ को एउटा रेस्टुराँमा नास्ता गर्यौं। त्यहाँको दिदीहरू सँग कुरा गर्दागर्दै समय बितेको पत्तै भएन। हामीले तिर्नुपर्ने ४५० रुपैंया भएपनि मैले ५०० दिँदाखेरि दिदीले निकै अप्ठ्यारो मान्नुभयो। काठमाडौँ भन्दा बाहिर निस्केपछि नेपालमा यस्तो घटनाहरू सामान्यजस्तै लाग्दछन्।

नास्ता खाइसकेपछि हामी त्यहाँका स्थानीयहरूसँग बाटोको बारेमा सोद्धै आफ्नो यात्रा लाई अगाडि बढायौं। बाटोमा विभिन्न किसिमका मान्छेहरू भेटिन्थे - धेरै जस्तो तामाङ्ग हरू भेटिए। एकजना व्यक्तिसँग कुरा गरेअनुसार त्यहाँ तामाङ्ग, बिस्ट अनि रायमाझीहरूको धेरै पहिलेदेखि नै बसोबास रहँदै आएको थियो र २००८ साल मा राजमार्ग बनिसके पछि पनि बाहिरका धेरै मनिसरू आएनन्। पहिले पहिले काठमाडौँलाई तराईसम्म जोड्ने यो एकमात्र बाटो थियो र गाडी को चाप पनि निकै हुन्थ्यो, तर आजभोली मुग्लिन को बाटो पायक पर्ने भएको हुनाले यो बाटोको महत्व घटेको छ। हेटौडासम्म त काठमाडौँ बाट सिस्नेरी को बाटो अझै छोटो पर्छ। त्रिभुवन राजपथ र सिस्नेरी को बाटो मकवानपुरको भैसे भन्ने ठाउँमा गएर मिल्छन। यी दुवै बाटोहरू, बिशेष गरेर नयाँ बाटो ठूला ठूला चट्टानहरू फोरेर बनाइएका छन्। नेपालका अरु साना बजारहरूमा जस्तै यो ठाउँका मान्छेहरू सानोतिनो व्यापार (किराना र होटेल), तरकारी खेती अनि बैदेशिक तथा काठमाडौँको रोजगारमा आश्रित छन। होटेलको बिष्ट दाईसँग कुरा गर्दा यस ठाउँमा बिरगंज/हेटौंडाका मान्छेहरू गर्मी छल्न अनि काठमाडौँका केटा-केटी हरु नाइट-आउट का लागि धेरै आउछन् भन्ने कुरा बुझियो। त्यसैले पनि यहाँको अर्थतन्त्रका लागि पर्यटनको बिशेष महत्व रहेको छ।

बाटोमा हामी भेटेका जति मनिसरूसँग भलाकुसारी गर्दै अगाडी बढ्यौँ। हामीलाई मोटामोटी कुन दिशामा जाने भन्ने थाहा थियो तर ठ्याक्कै कुन बाटो समात्ने भन्ने चाहिँ थाहा थिएन त्यसैले हामीले गोरेटोपिच्छे नै बाटो सोद्धै हिड्यौं। हाम्रो सुरुवाती योजना दामन बाट मोहनी झरना हुँदै मार्खु निस्किने थियो तर झरना पुग्दा निकै समय लाग्ने अनि हाम्रो गन्तब्य चन्द्रागिरी पनि निकै टाढा भएकोले हामीले झरनाबाट नगएर सिधै जाने बाटो रोज्यौं। दामनबाट १ घन्टाजति हिँडेपछि निकै अप्ठ्यारो बाटो तय गर्नुपर्ने भयो। साँघुरो, चिप्लो अनि ठाडै ओरालो बाटो हामी निकै सावधानीपूर्वक इन्द्रसरोवर ओर्लियौँ। यो नेपालको एकमात्र जलाशययुक्त जलविद्युत परियोजना भएकोले विद्युतीय भार व्यवस्थापनमा यसको बिशेष महत्व रहेको छ। वर्षाको बेला भए पनि जलाशयमा पानि को स्तर तल नै देखिन्थ्यो तर यो आँखाले भ्याएसम्म लामो भएको हुनाले प्रशस्त पानी भण्डारण राखेको कुरामा दुई मत थिएन। नदीको किनारै किनार केहि बेर हिडिसकेपछि हामी एउटा लामो झोलुंगे पूलमा आइपुग्यौँ र त्यहीं बसेर एकछिन आराम सँगै ख्याल-ठट्टा गरेर बस्यौं। केहि बेरमा पुल तरेपछि मार्खु आइपुग्यो। घरहरूका आँगनको बाटो हिड्दै, त्यहाँ को परिवेश अनि जनजीवनलाई नियाल्दै हामी अगाडी बढ्यौँ। चित्लाङ्गतर्फ को उकाली चढ्ने बेलामा एउटा पिकअप आइपुग्यो र कता जाने हो भनी सोध्दा चालक भाइले भेंडाफारम बतायो। हाम्रो यात्रा अझै पनि धेरै नै बाँकी रहेको अनि चित्लाङ्गमा हाम्रो लागि खाना बनिसकेको कुरालाई मनन् गर्दै हामी ३-४ किलोमीटरको बाटो गाडीमा जाने विचार गर्यौं। आफ्नो गन्तब्यमा पुगिसकेपछि हामीले भाइलाई केहि पैसा दिन खोज्यौँ तर ऊ मानेन। अघि बताएझैँ नेपाली समाजको यस्तो चरित्र अझै पनि कायम रहेको देख्दा मनलाई आनन्द मिल्यो।

चित्लाङ्गको गोट चिज फारम होम्स्टेमा हाम्रा लागि खाना पाकिरहेको थियो। उक्त फारमक संचालक अशोकजंग ठकुरी काकाले हामीलाई हाम्रो यात्राको बारेमा निरन्तर जानकारी लिईराख्नु भएको थियो। संजय पहिले चित्लाङ्ग जाँदा उहाँसँग चिनजान भएको रहेछ। त्यहाँ पुग्ने बित्तिकै उहाँसँग बातचित हुन लग्यो। स्वागतस्वरूप उहाँले हामीलाई खुर्पानी को वाइन अनि बाख्राको चिज टक्र्याउनु भयो र आफू पनि सँगै बस्नुभयो। उहाँ पहिले राजनीतिज्ञ हुनुहुँदो रहेछ तर आजभोली गैरराजनीतिक रूपमा सामाजिक कार्य मा सक्रिय हुनुहुँदो रहेछ। ५९ सालतिर फ्रान्स र बेल्जियम गई वाइन र चिज बनाउने तालिम लिएर आउनुभएको रहेछ र त्यसपछि त्यहीं फारम खोलेर बस्नु भएको रहेछ। उमेरले ६० जति पुगे पनि उहाँमा एक नौजवानमा भन्दा कम जोश थिएन। उहाँ हामीसँग कुराकानी गर्न निकै लालायित हुनु हुन्थ्यो। एमाले अनि तेस्मा पनि के पी ओलीको पक्षमा वकालत गर्ने उहासँग मेरो ओलीका कर्तुतहरूका बारेमा केहि बादबिवाद पनि भयो। साथसाथै एक बोत्तल वाइन पनि मिलेर सकियो। अनन्त यात्रा को सबैभन्दा कठिन भाग अझै पनि बाकि रहेकोले हामी उहाँसँग बिदा भयौं। जाने बेला मा हामीले ३-३ वटा खुर्पानीको वाइन र १-१ वटा चिज राख्यौ जसले गर्दा हाम्रो झोला निकै भारी हुन पुग्यो। कोभिडको कारणले खासै व्यापार नभएको समयमा ७००० रुपियाँको व्यापार ले उहाँ पनि निकै प्रसन्न हुनुभयो।

चित्लाङ्गको मूल सडक लाइ पछ्याउदै अगाडी बढ्दा त्यहाँको रैथाने नेवारी जीवनशैली देख्ने मौका मिल्यो। बुढापाका हरु आफ्नो संस्कृतिक भेषभूषामा सजिएका थिए। कोहि बाख्रा चराउँदै थिए, कोहि भलाकुसारी गर्दै थिए भने महिला हरु घरयसी काम गरिरहेका थिए। केहि अगाडी हिंडेपछि ढुंगेधारा अगाडी केहि केटाकेटि हरू खेलेको देख्यौं र उनीहरू संग हामी पनि गीत बजाएर केहि बेर नाच्यौं। त्यसपछि बाटो ठाडो उकालो थियो। पुरानो गोरेटोलाई ठाउँ ठाउँ मा चिर्दै सँगसँगै घुमाउरो मोटरबाटो पनि अगाडी बढेको थियो। गोरेटो भने निकै चिप्लो थियो - धेरै मानिसहरु ओहोर दोहोर नगरेको थाहा हुन्थ्यो। बाटोमा पनि १ जना बाहेक कोहि बटुवा भेटिएनन्। उकाली चढ्न लगेपछि संजय र म आफ्नो आफ्नो पारामा हिड्न लाग्यौँ। कोसौं टाढा सम्म कुनै मानिसको उपस्थिति थिएन, हामी प्रकृति मा बिल्कुल एक्लै थियौं र एकान्त मा प्राप्त हुने एउटा बिशेष उर्जा हामीलाई प्राप्त भैराखेको थियो। एकान्तले हामीलाई अन्तर्मुखी हुन प्रेरित गरिरहेको थियो. प्रकृति को काख मा त्यसरी ळुट्पुटिने मौका हामी बिरलै पाउछौं, त्यसैले हामी जीवन को आनन्द लिन भुल्ने गर्छौं अनि यस्ता पल हरुले हाम्रो दृष्टिकोण लाई अनंदमायी बाटो मा ल्याउन मद्दत गर्छ। शरीर गलिरहेको थियो भने मस्तिष्क मा उर्जा झन् भरिंदै गइरहको थियो। मन उन्मुक्त भयो भने थकित शरीरमा पनि स्फूर्ति आउछ त्यसैले हामी सबैले आफ्नो मनलाइ सधैँ उर्जाशील राख्न अत्यन्त जरूरी छ। शान्त वातावरणबाट प्राप्त उर्जाको सहायताले हामी कठिन उकालोमा निरन्तर अगाडि बढ्यौँ। अब आइपुग्न लग्यो भन्ने बेलामा गोडा बेसरी दुखिरहेको थियो तर म कुनै आराम नलिई गन्तब्यमा पुग्न दृढ थिएँ। चन्द्रागिरीको टुप्पोमा पुग्दा मेरो स्वश्प्रस्वास निकै तेज भएको थियो, शरीर पसिनाले निथ्रुक्क भएको थियो अनि गोडाले टेक्न पनि गार्हो भैरहेको थियो तर मनमा भने यस्तो जब्बर पहाडको चुचुरोमा पुगेको अथाह सन्तुष्टी अनुभव भैरहेको थियो। त्यहाँबाट हामी गाडीमा चन्द्रागिरी रिसोर्टतर्फ लाग्यौं।

रिसोर्ट मौलिक नेपाली शैलीमा आधुनिकता झल्किने खालको शैलीमा बनाइएको थियो। मलाई मौलिक वास्तुकला मन पर्ने भएकोले त्यहाँको भौतिक पूर्वाधारहरूले निकै मन तन्यो. आफ्नो रूममा गइसकेपछि हामी स्विम्मिंग पूल अनि जकूजीको आनन्द लिनतर्फ़ लाग्यौँ। त्यहाँ भेटिएका एकजना संखुवासभाका ब्यापारी दाइसँग केहीबेर भलाकुसारी भयो। दिनभरको पैदलयात्रा पश्चात् निकै भोक लागेको हुनाले हामी भोजन कक्ष्यतिर लाग्यौँ। निकै महँगो भए पनि खाना भने त्यति मिठो भएन तैपनि हामीले टन्न खायौं अनि सुत्नतर्फ लाग्यौं। सुत्ने बेलामा मलाई छेउको कोठामा बजिरहेको हिन्दि गाना अनि जंगलमा मृग कराइरहेको आवाजले निद्रा लाग्न गार्हो भयो तर निदाएपछी चाहिं बिहानसम्म सुतेँ। बिहानपख फेरी स्विम्मिंग पूल मा केहि बेर पौडी खेलेर हामी केबुलकार मार्फत काठमाडौँ फिर्ता भयौं। म सरोज दाईको छोरी को पाश्नीमा सरिक हुन कलंकीमा झरें भने संजय दरबारमार्गतर्फ लाग्यो।